नबिल बैंकले कमायो साढे ७ अर्ब रुपैयाँ, ब्याज आम्दानी १०१.६३⁒ बृद्धि हुँदा ईपीएस कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैैंकले आज गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले आज प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद नाफा ७६.८६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । जस अनुसार बैंकको प्रतिशेयर १४ रुपैयाँ ६४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकका संचालन मुनाफा ११ अर्ब १ करोड रुपैयाँ र कुल संचालन आम्दानी २१ अर्ब ६७ करोड रुपैयाँ रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
आइतबार बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ ६४ पैसा रहेको थियो ।
असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ।
बैंकको चुक्ता पूँजी हाल २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।











