वाणिज्य बैंकहरुको नाफा बढ्दा पनि समग्रमा कर्जाको गुणस्तर भने खस्कियो, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खराब कर्जा दोब्बरले बढेको छ।२०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। बैंकहरूको नाफा बढ्दा समग्रमा कर्जाको गुणस्तर भने खस्किएको छ ।
राष्ट्र बैंककै अधिकारीहरुले गत माघ/फागुनतिर आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको खराब कर्जा औषतमा ५ प्रतिशत पुग्नसक्ने भन्दै त्यसका लागि तयार रहन बैंकरहरुलाई सुझाब दिएका थिए ।आर्थिक बर्ष २०७९ चैत मसान्तमा ३.२३ प्रतिशत रहेको खराब कर्जा ०८० असार मसान्तसम्म आइपुग्दा २.७० प्रतिशतमा झार्न बैंकहरु सफल भएका छन् । बैंकहरुले विभिन्न नाममा कर्जा लगानी गर्दै सावाँ ब्याज उठाएका छन् । जसले गर्दा खराब कर्जा अनुमान गरेजति नबढेको हो ।
गत आर्थिक वर्षमा ५ वाणिज्य बैंकको खराब कर्जा मात्रै ४ प्रतिशतभन्दा माथि पुगेको छ । अघिल्लो वर्ष १.११ प्रतिशत रहेको कुमारी बैंकको खराब कर्जा बढेर गत वर्ष ४.७७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको हो ।
दोस्रो धेरै खराब कर्जा भएको बैंक हो हिमालयन । हिमालयन बैंकको अघिल्लो वर्ष १.५९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.५७ प्रतिशत पुगेको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत, प्राइम बैंकको १.७७ प्रतिशतबाट बढेर ४.२३ प्रतिशत, प्रभु बैंकको १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।
त्यस्तै, सिटिजन्स र ग्लोबल आइएमइ बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ भने ८ बैंकको २ प्रतिशत माथि पुगेको छ । सिटजन्स बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमइको १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ ।
त्यसैगरी, राष्ट्रिय वणिज्य बैंकको २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत, नेपाल बैंकको १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत, एनएमबि बैंकको १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.१५ प्रतिशतबाट बढेर २.४३ प्रतिशत, सिदार्थको १.०७ प्रतिशतदेखि बढेर २.०१ प्रतिशत, कृषि विकास बैंकको २.०९ प्रतिशतदेखि बढेर २.४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ०.८९ प्रतिशतदेखि बढेर २.८१ प्रतिशत, नविल बैंकको ०.६४ प्रतिशतदेखि बढेर १.२३ प्रतिशत र माछापुच्छ्रे बैंकको १.०४ प्रतिशतदेखि बढेर २.१२ प्रतिशत पुगेको छ ।
त्यसैगरी, सानिमा बैंकको ०.३३ प्रतिशतदेखि बढेर १.३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.५९ प्रतिशतदेखि बढेर १.१७ प्रतिशत पुगेको छ ।
सबैभन्दा कम एभरेष्ट बैंक र एनआइसी एशिया बैंकको खराब कर्जा छ । पछिल्ला वर्षहरुमा आक्रामक कर्जा विस्तार गरेको एनआइसी एशिया बैंकको खराब कर्जा अत्यन्तै कम हुनुलाई बैंकिङ क्षेत्रले आश्चर्यका रुपमा हेरेको छ ।
एभरेष्ट बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत पुगेको छ भने ०.५६ प्रतिशतबाट बढेर ०.८० प्रतिशत पुगेको छ ।












