स्वावलम्बन लघुवित्तको मुनाफा ३३ करोड रुपैयाँ माथि, अन्य सूचक कस्ता ?

२३ श्रावण २०८०, मंगलवार ०९:४३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जवन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाले २१ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले २७ करोड ९९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १०.६९ प्रतिशतले घटेर ५२ करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५८ करोड ७९ लाख रुपैयाँमा सीमित थियो । यसका साथै, संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ५५ करोड रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ८.१९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ६९ करोड रुपैयाँ थियो ।

असार मसान्तसम्ममा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.६६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ५.८८ प्रतिशत थियो । खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा ३५ करोड २७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७३ करोड ९१ लाख रुपैयाँ छुट्याएको थियो ।

चुक्तापुँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २६.३१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २४.९४ रुपैयाँ थियो। पीई रेसियो ३४.२३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५२.४६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*