लक्ष्मी लघुवित्त ८ करोड बढी रुपैयाँले घाटामा, अधिकांश सूचक ऋणात्मक हुदा ईपीएस कति ?

२४ श्रावण २०८०, बुधबार ०९:१७

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थाले ८ करोड ३४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोर्नु परेको छ । अघिल्लो आर्थिक वषको सोही अवधिमा संस्थाले सञ्चालन मुनाफा २० करोड ६९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यसका साथै, असार मसान्तमा खुद ब्याज आम्दानी पनि ३१.३२ प्रतिशतले घटेर ३६ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५३ करोड ४३ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म ३ अर्ब २ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८१ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ४१.४२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १७९.०१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*