एनएमबि लघुवित्तको अधिकांश सूचकमा गिरावट, खुद नाफा २ करोड २४ लाख मात्र हुँदा इपीएस कति ?

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले समीक्षा अवधिमा घाटा व्यहोर्नुपरेको छ ।
समीक्षा अवधिसम्ममा संस्थाले २ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, यस अवधिसम्म संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्ष संस्थाले १८ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज १ करोड १२ लाख रुपैयाँमा सीमित थियो ।
समीक्षा अवधिमा संस्थाले ३४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४५ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । जुन अघिल्लो आवको तुलनामा २३.०६ प्रतिशत कम हो ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ईपीएस १७.१२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ ।











