निर्धन समुह सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

२२ भाद्र २०८०, शुक्रबार १२:०१

काठमाडौं । डा.हरिहरदेव पन्तको आठौ स्मृती दिवसकोे अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुर, बाँकेको आयोजनामा बाँके जिल्लाको कोहलपुर ९ झण्डहवामा १ दिने वृहत निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको उदघाट्न कोहलपुर ९ का वडा अध्यक्षले एक औपचारीक समारोहमा गरेका थिए ।

कार्यक्रमको सुरुवात सहभागि सबैले संस्थाका संस्थापक स्वर्गिय डा.हरिहर देव पन्तको स्मरणमा मौन धारण गरे पश्चात वडा अध्यक्ष लगायत सबैले डा. हरिहरदेव पन्तको फोटोमा माल्यापर्ण तथा पुस्पगुच्छा अर्पण गरेका थिए । स्व. डा.पन्तले ३० वर्ष पहिले समुदायका दलित, जनजाती, वेरोजगार, भुमिहिन सुकुमबासी विपन्न वर्गका महिलालाई सहज र सरलताका साथ विपन्नको घरदैलोमा नै वित्तीय सेवा पुरयाएर समाजमा ब्याप्त गरीबी कम गर्न स्वरोजगारी र रोजगारीको अवसरको वृद्धि सँंगै महिला सशक्तीकरण गर्ने उदेश्य राखेर सेवा प्रदान गर्न सुरु गरेका थिए । डा.पन्त नेपालमा लघुवित्तका पिताका रुपमा चिरपरिचीत छन् ।

स्वास्थ्य परीक्षण कार्यक्रम नेपाल नेत्र ज्योति संघ , फत्तेवाल आँखा अस्पताल नेपालगंज बांकेको प्राविधिक सहयोग र शाईन रेसुंङ्गा विकास बैंकको आर्थिक सहयोगमा संचालन गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागिहरुको आँखा परीक्षण फत्तेवाल आँखा अस्पतालका चिकित्सकहरुले गरेका थिए भने डा. देवेन्द्र आचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा कुल १२१ जनाले स्वास्थ्य परीक्षण गराएका छन । जसमध्ये १६ जनाको आँखामा मोतिविन्दु लगायतका संक्रमण पाईएकोले अप्रेसन गर्न सिफारिस भएको छ । उक्त विरामीहरुलाई फत्तेवाल आँखा अस्पतालले ५० प्रतिशत छुट सहितको सहुलियतमा अप्रेशन सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय सेवाको पहूंच वृद्धि गरेर मात्रै गरीवी न्युनीकरण नहुने विपन्न परिवार स्वास्थ्य उपचार सम्बन्धी खर्चका कारण झनै गरीब हुंदै जानेदेखि स्वास्थ्य उपचारमा सबैको पहुंच वद्धि र समयमै उपचार गराउने वानिकोे विकास गराउंदै स्वास्थ्य उपचार खर्चको कारण परिवार पुन गरिब हुन सक्ने भएकोले स्वास्थ्य उपचार खर्च जोेखिम घटाउने लगायतका सामाजिक सेवाको भावनाले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको २०७५ स्थापना भएको हो ।

प्रतिष्ठानले विगतमा समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम सन्जिवनी संचालन गरेको थियो । यस कार्यक्रमबाट नेपालमा स्वास्थ्य विमा कार्यक्रम सूरुवात गर्ने क्रममा पुरयाएको सहयोग उल्लेखनीय रहेकोे छ । यस्ले झण्डहवामा स्वास्थ्य क्लिनीक संचालनका साथै समुदायमा स्वास्थ्यमा रहेको जोखिम न्युनिकरण गराउने स्वास्थ्य परीक्षण लगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*