सुध्रिएनन् गभर्नर, लगानीकर्ता थप निराश, पूँजीबजार रातोको रातै

२२ आश्विन २०८०, सोमबार १४:५४

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कुनै हालतमा नसुध्रिने भएका छन् । उनी बोल्छन् एउटा, गर्छन् अर्को । बेलाबेला गरेको जस्तो गर्छन् । त्यो पनि झारा टार्ने शैलीमा । गएको बुधबार अर्थतन्त्रका जानकारहरुले बेसमारी झपारेपछि निन्याउरो परेका उनले अहिले झन् गति छोडेका छन् । यतिसम्म कि उनी आफैले गरेको बचन पूरा गर्दैनन् ।

अर्थतन्त्र सुधार गर्न एकीकृत निर्देशनमा लचकता अपनाउने र राष्ट्र हितका लागि काम गर्ने भनेर अर्थमन्त्री प्रकाशशरण महतका सामुन्ने अर्थसचिव कृष्णहरी पुष्करसँग बाचा गरेका थिए । तर, उनले त्यो बाचा तोडे । १२ करोडको ऋण सीमा बढाएर व्यक्तिगतलाई १५ र संस्थागतलाई २० करोड बनाउनु तथा घरजग्गाको सीमा सबैतिर ५० प्रतिशत पुराउनुबाहेक अर्थतन्त्र सुधार्ने ठोस कदम उठाएनन् ।

हुन त, उनी आफैं भन्दै हिँडिरहेका छन्, ‘अर्थतन्त्र चलायमान बनाउने काम हाम्रो होइन। सरकारको हो । हामीले त केवल वित्तीय स्थायित्व, बाह्य स्थायित्व हेर्ने हो । जसमा हामी सफल छौं ।’ शेयर धितो कर्जाको सीमा कै कारण पूँजी बजार ऋणात्मक भएको आलोचना सहन नसकेर हठात सीमा बढाएका गभर्नर अधिकारीलाई शेयर बजारले रातो चड्कन हानिरहेकै छ ।

गभर्नर अधिकारीले गएको बिहीबार जारी गरेको निर्देशनमा शेयर बजार, रियलस्टेट, घरजग्गा, चालु पुँजी कर्जा, ऋण पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका तमाम कुरा समेटिए । तर उनकै सर्कुलर आलोचनाको भुङ्ग्रोबाट बच्न सकेन । हुँदा हुँदा उनकै सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीले गभर्नर अधिकारी राष्ट्र बैंकको स्वायत्ततालाई भुलेर लहडमा चलेको आरोप लगाए । उनले गभर्नरको स्वेच्छाचारीताले सीमा नाघिसकेको समेत टिप्पणी गरे ।

गभर्नर अधिकारीले सँधै अमूर्त कुरा गर्छन्, अर्थ मन्त्रालयका एक जना अधिकारीले भने, ‘राष्ट्रिय हितका लागि काम गर्नु पर्छ’ भन्नु हुन्छ । त्यस अनुरुप काम गर्नुहुन्न । यो अमूर्त कुरा भएन र ?’ गएको बुधबार त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागले गरेको कार्यक्रममा गभर्नर अधिकारीले अग्रजहरुबाट ठूलै खप्की खाए ।

मौद्रिक नीतिले अनावश्यक कसेर अर्थतन्त्र समस्यामा परेको र समष्टीगत माग घट्दा बजारमा मन्दी देखिएको हप्कीदप्की सुनेपछि निन्याउरो भएका उनी त्यही दिन साँझ राष्ट्र बैंक सुपरिवेक्षण विभागले डाकेको बैठकमा एकाएक जंगिए ।
वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुमाझ दिनभर खाएको खप्कीको वेदना सुनाए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले राम्रो काम गरिरहेको छ । हामीले गर्दा अर्थतन्त्रको बाह्य समस्या हटेर गएको छ । तर, यहाँ हाम्रो कामको मूल्यांकन भइरहेको छैन । भ्रमहरु छर्ने काम भइरहेको छ । अब भ्रमहरु चिर्नु पर्छ, त्यसैले अब विभिन्न फोरममा गएर अर्थतन्त्र कसरी जोगियो भनेर म आफैं बोल्छु ।’

गभर्नर अधिकारी जति जंगिए पनि उनी सरकारको कारवाहीमै छन् । उनीमाथिको मुद्दा फिर्ता भएको छैन । अर्कोतिर उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । निजी क्षेत्रलाई झट्ट हेर्दा माग पुरा गरेको जस्तो लागेको छ । तर, गभर्नर अधिकारी ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’को चरित्रमा देखिएको धेरैले बुझिसकेका छन् ।

एक जना व्यवसायी भन्छन्, ‘गभर्नरले दिल खोलेर काम गरेनन् । सबैमा कन्जुस्याइँ गर्नु भएको छ । गभर्नरले गरेको सर्कुलर मात्रैले खासै अन्तर गर्दैन ।’ उनको गतिविधिले लगानीकर्तालाई थप निराश बनाउने काम मात्र गरेको आरोप ति व्यवसायीले लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*