गभर्नर महाप्रसाद अधिकारीकै कारण डुब्दै अर्थतन्त्र, चैत्र २३ गतेसम्म लगानीकर्ताले राहत नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै कारण देशको अर्थतन्त्र डुब्ने अवस्थामा पुगेको छ । माफियासँगको सेटिङमा ठूला ऋणिहरुलाई कहिल्यै ऋण तिर्नु नपर्ने गरी उन्मुक्ति दिई साना ऋणीहरुको घाँटी निमोठ्ने कार्यमा उद्यत भएका गभर्नर अधिकारीले अर्थमन्त्रीको निर्देशन समेत उल्लंघन गरेर शेयर बजारका लगानीकर्तालाई निराश बनाउँदै आएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले शेयर कर्जा धितोको सीमा (१२ करोड) हटाउन पटक-पटक निर्देशन दिए, भने, भन्न लगाए । तर, गभर्नर अधिकारीले टेरपुच्छर लगाएका छैनन् । सर्वोच्चको आदेश लिएर पदमा बस्ने अनि देशको अर्थतन्त्र सुधार्न, लगानीकर्तालाई राहत दिन सरकारले गर्न खोजेको काममा असहयोग गरिरहने प्रवृत्तिका कारण अधिकारी गभर्नर पदमा रहँदासम्म नेपाली अर्थतन्त्र सुधार हुने सम्भावना छैन ।
हिजो (सोमबार) आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर सरकारले भनेको मान्दैनन् भनेर निरिहता प्रर्दशन गरे । यसले गभर्नर अधिकारी अर्थमन्त्री र सरकारसँगै टक्कर लिएरै भएपनि सुधार गर्ने योजनामा असहयोग गर्ने नियतसाथ अघि बढेको देखिएको छ ।
गभर्नर अधिकारीले गत आवको मौद्रिक नीति तेस्रो त्रैमासिकको समीक्षामार्फत केही सीमित व्यापारीहरुलाई ऋण नविकरण गर्न दिएर आर्थिक अपराध गरेको र अख्तियारको दुरुपयोग गरेको भन्दै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको छ । आयोगले छानविन गरेको अवस्थामा गभर्नर अधिकारी छानविनमा पर्ने छन् ।
गभर्नर अधिकारीले यसअघि सरकारलाई समेत मुद्दामार्फत हराएर पुनः बहाली भएकोले अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समेत टेर्न छोडेको तथ्य अर्थमन्त्री स्वयम्ले सार्वजनिक कार्यक्रम मै स्वीकार गरेका छन् । २०७६ साल चैत्र २४ गते तन्कालीन केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा समेतले गभर्नर बनाएका अधिकारीविरुद्ध खतिवडा स्वयम्ले एक अन्तर्वार्तामा केन्द्रीय बैंकका कारण अर्थतन्त्र समस्यामा परेको आत्मसात गर्दै आफैले नियुक्त गरेको व्यक्ति अर्थात महाप्रसाद अधिकारीमा समस्या रहेको स्वीकारेका छन् ।
अर्थमन्त्रीको निर्देशन नमान्ने र माफियासँग र कांग्रेस नेतृ आरजु देउवासँगको सेटिङमा ठूला व्यापारीलाई ऋण तिर्नु नपर्ने, नविकरण मात्रै गरे हुने गरी निर्णय गर्दै आएका गभर्नर महाप्रसाद अधिकारी कै कारण देशको अर्थतन्त्र थप समस्याग्रस्त भइरहेको तथ्य अब दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।
अधिकारीले आफ्नो चार वर्षे कार्यकाल सक्न अझैँ बाँकी छ । कार्यकालको अवधिका हिसाबले अधिकारीलाई आगामी चैत्र २३ गतेसम्म नेपाली अर्थतन्त्रले व्यहोर्नु पर्नेछ । उनी नेपाल राष्ट्र बैंकबाट बाहिरिने तिथि हो । त्यसअघि एक महिना पहिले छुट्टीमा बस्ने परम्परा अनुसार फागुन २४ गतेबाट उनको रवाफ कम हुनेछ ।
देशको बाह्य अवस्था सुमधुर भइसकेको भएपनि आन्तरिक व्यवस्थापन भद्रगोल भएको छ । जसका कारण आर्थिक गतिविधि ठप्प छ । सरकारले मौद्रिक नीतिको कडा नियामकीय व्यवस्थाको कारण यस्तो समस्या आएको भन्दै आएको छ । तर, गभर्नर अधिकारीले नियमनको नाउँमा एकातिर जनतालाई कसेका छन् भने अर्कोतिर ठूला उद्योगीहरुलाई समयमा ऋण तिर्नु नपर्ने छुट सुविधा दिएर विभेदकारी नीति अवलम्बन गरेका छन् । यसले ठूला व्यापारिक घरानाहरु आनन्दले घरमा बस्दा साना व्यापारीहरु पानी बाहिरको माछा झै छटपटाउन पुगेका छन् ।













