प्रभु बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्षको धितो सहित गाडी लिलाम गर्ने

काठमाडौं । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो लिलाम गर्ने भएको छ ।
देउराली बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्षसमेत रहेका रविन्द्र चौलागाई सहितले साविकको सेञ्चुरी कमर्सियल बैंकबाट लिएको कर्जा र त्यसको सावा ब्याज समयमा नै भुक्तानी नगरेपछि बैंकले ७ दिन भित्र धितो लिलाम गर्ने जनाएको छ ।
बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएर पैसा संकलन गरेको सहकारीले लामो समयदेखि सदस्यको पैसा फिर्ता गर्न नसकेपछि समस्यामा परेको हो । सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । उजुरी पेरपछि सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।
अध्यक्ष चौलागाई तथा उनका आफन्तहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज नतिरेपछि बैंकले धितो ७ दिन भित्र लिलामी गर्ने भएको हो । बैंकले ऋणी, जमानी तथा कम्पनीको नाममा भएको १८ स्थानको धितो लिलाम गर्न लागेको हो ।
बैंकले रविन्द्र चौलागाई, पूजा खत्रीको नाममा रहेको विभिन्न १८ स्थानको धितो जग्गासहित चौलागाईको नाममा दर्ता भएको प्रदेश ३–०१–०२४ च १५२५ नम्बरको टोयोटा कम्पनीको प्राडो कार र ऋण लिएका ४ वटै कम्पनीको चालु सम्पति लिलामी गर्ने जनाएको छ ।













