राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १० अर्बको आन्तरिक ऋण उठाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र भोलि (असोज १८ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १९ गते परिपक्व हुनेछ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।











