बचतकर्ताबाट भाग्दै हिँडेका देउराली सहकारी अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ

काठमाडौं । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । चौलागाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । बचकर्ताको करिब २ करोड रकम अपचलन गरेको अरोप लागेका चौलागाईं भागिहिँड्दै आएका थिए ।
सहकारीको सञ्चालक समिति सदस्यहरुले बचतकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाई सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर ठगि गरेको उजुरीका आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने प्रलोभनमा बचतकर्ताले जम्मा गरेको रकमको सावाँ–व्याज केही पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले सीआईबीमा उजुरी दिएका थिए ।
उनीहरुले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिने तर्फ आवश्यक पहल नगरेको बताएका छन् ।
बचतकर्ताले हालेको उजुरी अनुसार ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ रकम अपचलन तथा हिनामिना गरेको विवरण प्रहरीले पाएको छ । चौलागाईंमाथिको अनुसन्धानका क्रममा यसमा संलग्न अरु पनि तानिनसक्ने सीआईबीले जनाएको छ । चौलागाईं फरार भएपछि बचतकर्ताले माइतीघर मण्डलामा उनको फोटोसहितको व्यानर राखेर महिना दिन भन्दा बढी धर्ना दिएका थिए ।











