सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ ।
बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा म्याद लम्बिएर अब कात्तिक १ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सो ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस’ प्रदान गरेको छ । यस प्रकारको रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । उक्त ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आवको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।











