बैंकहरुमा २ अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर पेस गर्न आह्वान

काठमाडौं । राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो ।
राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकहरुमा २ अर्ब २९ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४२ करोड ९८ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १४ करोड ३३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिनेछ ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको सर्तहरु भने पालना गरेको हुनुपर्ने जनाएको छ । साथै, यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८१ मंसिर ३० गतेसम्मका लागि हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।











