मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न ढिलाई, के गर्दै छन् गभर्नर अधिकारी ?

११ मंसिर २०८०, सोमबार १५:५०

काठमाडौं । गएको आर्थिक वर्ष ०७९/८० मा मंसिर ११ अर्थात् पहिलोसाता लगत्तै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले यो पल्ट ढिलाई गरेको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा समेत मंसिर पहिलो साता सार्वजनिक गर्ने भनिए पनि ढिलाई भएको छ ।

मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्वको लामो विदा परेका कारण सार्वजनिक गर्ने कार्यमा ढिलाई भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । राष्ट्र बैंकले एक हप्ता अघि नै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको विभागीय तयारी सकेको थियो । व्यवस्थापकीय उच्च तहको स्वीकृति बाँकी रहेकाले समीक्षा सार्वजनिक गर्न बिलम्ब भएको हो ।

पहिलो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले केही लचकता अपनाउने संकेत राष्ट्र बैंकले यसअघि नै गरिसकेको छ । मौद्रिक नीतिको समीक्षाको विभागीय तयारी सकिनुुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर वाह्य अर्थतन्त्र र मौद्रिक नीतिका उपकरणहरुको कार्यान्वयनबारे चासो राखेका थिए ।

प्रधानमन्त्री स्वयंले चासो राखेका कारण पनि मौद्रिक नीतिको समीक्षामा लचकता अपनाउनु पर्ने बाध्यता राष्ट्र बैंकलाई आइलागेको छ । अर्थमन्त्रालयको पहलपछि मौद्रिक नीति अघि नै सर्कुलर जारी गरेर केन्द्रीय बैंकले शेयर धितो कर्जा, घरजग्गा कर्जालगायतमा केही लचकता अपनाएको थियो ।

व्यवसायीले शेयर धितो कर्जाको क्याप पूर्ण रुपमा हटाउन आग्रह गरिरहे पनि राष्ट्र बैंकले झिनो संशोधन मात्रै गरेकाले पहिलो त्रैमासिक समीक्षमा ठूलो नीतिगत परिवर्तनको अपेक्षा भने गरिएको छैन ।

गभर्नर कै अरुचि !

मौद्रिक नीति तर्जुमा कार्यविधि-२०७३ (प्रथम संशोधन २०७९) मा ‘त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्‍त भएको ३० दिनभित्र सार्वजनिक गरिने छ’ भनी उल्लेख छ । तर, राष्ट्र बैंकका गभर्नर अधिकारीले मंसिरको ११ गते घर्किंदा पनि समीक्षा सार्वजनिक गर्नेतर्फ रुचि देखाएका छैनन् ।

कात्तिक २५ गतेदेखि ३० गतेसम्म तिहारको सार्वजनिक बिदा थियो, जतिबेला ९ दिन कार्यालय खुलेनन् । मंसिर १ गते शुक्रबार कार्यालय खुलेपनि २ गते शनिबार र ३ गते आइतबार छठ पर्वको विदा परेको थियो । त्यसपछि कार्यालय निरन्तर खुलेपनि गभर्नरले मौद्रिक नीतिको समीक्षालाई प्राथमिकतामा राखेका छैनन् ।

बैंकको आर्थिक अनुसन्धान विभागले समीक्षाका लागि सबै काम सकेर तिहार विदाअघि नै मस्यौदा पनि बुझाइसकेको छ । तर, मौद्रिक नीतिसँग सम्बन्धित बैठकमा अनुसन्धान विभागका अधिकृत समेत सामेल हुने व्यवस्थापन समितिको छलफल अहिलेसम्म डाकिएको छैन । व्यवस्थापन समितिको अध्यक्ष गभर्नर हुने परिपाटी छ ।

समितिले मौद्रिक नीतिको समीक्षा पारित गरेपछि सञ्चालक समितिको बैठक डाकिन्छ । व्यवस्थापन समितिको बैठक नै नडाकिएकाले सञ्चालक समितिको बैठक पनि बस्न सकेको छैन । यसर्थ मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्न गभर्नरले अधिकारीले जानाजान ढिलाई गरिरहेका बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*