प्रभु बैंक ‘बैंक अफ दि इयर २०२३’ को अवार्डबाट सम्मानित

काठमाडौं । ‘बैंक अफ दि इयर २०२३’ को उपाधिबाट प्रभु बैंक सम्मानित भएको छ । बेलायतको लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
बेलायतमा भएको एक समारोहमा प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त अवार्ड ग्रहण गरेका हुन् । उक्त अवार्ड वितरण कार्यक्रममा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको उपस्थिति रहेको थियो ।
फाइनान्सियल टाइम्स लण्डनबाट प्रकाशित दैनिक समाचार पत्र हो । यसले हरेक वर्ष बैंक अफ द अवार्ड घोषणा गर्दै आएको छ । प्रभु बैंकले उक्त अवार्ड पाएकोमा बैंकका अध्यक्ष सिटौला र सिइओ शेरचनले गौरवान्वित महशुस गरेको बताए ।
उक्त अवार्ड पाएपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । साथै यो अवार्डले बैंकिङ क्षेत्रमा हौसला प्रदान गरेको र यसले बैंकको सेवा र शेयरधनीलाई उचित प्रतिफल दिन थप सहयोग पुग्ने बताए ।
त्यस्तै, सिइओ शेयरचनले बैंकको सञ्चालक, कर्मचारीको अथक मेहनत तथा शेयरनी, सेवाग्राही र शुभचिन्तकको साथ सहयोग र हौसलाले यो अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले यो अवार्ड प्राप्त गरेसँगै बैंकिङ सेवालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाउन जोड दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रभु बैंकले ३०० बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।











