भूकम्प प्रभावितलाई स्ट्याण्डर्ड चार्टर्डको सहयोग

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रुपैयाँ) सहयोग गर्ने जनाएको हो ।
बैंकले ब्रिटिस रेडक्रसमार्फत यो सहयोग उपलब्ध गराउने बताएको हो । ब्रिटिस रेडक्रस बैंकको आपतकालीन उद्धार साझेदार हो । यो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत प्राथमिक उपचार र उपचार सहायता तथा खाद्यान्न, पानीलगायतका अत्यावश्यक कुराहरु उपलब्ध गराउन प्रयोग हुने जनाइएको छ ।
सहयोगले प्रभावितको राहत र उद्धारमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । भूकम्प पश्चात् बैंकले आकस्मिक राहत तथा उद्धारको क्षेत्रमा अग्रसरता लिएर तत्काल सहयोग गरेको र अहिले पनि रेडक्रसमार्फत सहयोग पुर्याउन आन्तरिक रुपमा रकम जुटाईरहेको बैंकले जानकारी दिएको छ ।











