बैंक, बीमासहित ११ कम्पनीले आजै अर्बौ रुपैयाँ कर तिर्नुपर्ने, धेरै तिर्नुपर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक

काठमाडौं । सर्वोच्च अदालतमा बैंक तथा बीमा कम्पनीहरुले दर्ता गरेको मुद्दा हारेसँगै अब यही मंसिर मसान्त अर्थात आजै बैंक, बीमा सहित ११ वटा कम्पनीहरुले छ अर्ब चार करोड नौ लाख ८४ हजार ९५५ रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
बजेटमा उल्लेख भएको व्यवस्था अनुसार मर्जर तथा एफपिओमा कर निर्धारण भएका ११ वटा कम्पनीले पुरानो बक्यौता बमोजिमको मंसिर मसान्तभित्रैमा भुक्तानी गरेका जरिवना तथा ब्याज मिनाहाको व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार उनीहरुले आजै कर तिर्नुपर्ने भएको हो । भोलि शनिबार परेकोले आज शुक्रबारभित्रमा उक्त कर दायित्व नेपाल सरकारको खातामा जम्मा गरिसक्नुपर्नेछ । यदि तत्काल कर नतिरेमा जरिवना र ब्याज समेत गर्दा दोब्बर बढि हुन जान्छ ।
हालसम्म प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले कर तिर्नुपर्ने छ । सो बैंकले एक अर्ब ३६ करोड कर तिर्नुपर्ने छ । त्यस्तै, सबैभन्दा कम सिटिजन्स बैंकले एक करोड ३९ लाख रुपैयाँ कर तिर्नुपर्नेछ ।
उल्लेखित कम्पनी बाहेकका थप कम्पनीहरुले पनि अर्बौ रुपैयाँ कर आजै तिर्नुपर्नेछ । सबै कम्पनीहरु गरेर कूल २१ अर्ब हाराहारी कर रकम नेपाल सरकारलाई प्राप्त हुनेछ ।












