नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले आज (मंसिर २९ गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ। बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको यस ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा पुस १३ गतेसम्म खुला रहने जनाइएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्न्छन् ।











