ऋण शाखाका अधिकृतको सुसाइडपछि शाइन रेसुङ्गा बैंकले भन्यो-‘कर्मचारीको ‘मेल्टल हेल्थ’मा ध्यान दिन्छौँ’

काठमाडौं । बुटवलस्थित शाइन रेसुङ्गा बैंकका कर्मचारी झुण्डिएको अवस्थामा फेला परेपछि लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा सक्रिय संघसंस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई तनाव सुरु भएको छ ।
शाइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा कार्यालय समयमै दिउँदो बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट झण्डै ४-५ किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि बैंकलगायत बुटवलमा सक्रिय संघ संस्था एवं सेवामूलक क्षेत्रहरुमा तनाव भएको हो ।
फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको र यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरीले बुटलवले जनाएको छ ।
शाइन रेसुङ्गाका उप प्रमुख कार्यकारी अधिकृत अर्थात् डेपुटी सीईओ लोकराज पनेरुका अनुसार शर्माले ९–१० वर्षदेखि नियमित शाइन रेसुङ्गामै विभिन्न विभागमा काम गरेका थिए । बढीजसो शर्मा ऋण सँग सम्बन्धित विभाग एवं शाखाहरुमा काम गरेको पनेरुले बीमापोष्टलाई बताए ।
पनेरुले शर्मालाई कामका दौरान कुनै दबाब नभएको र नेचुरल्ली काम गरिरहेको बताए । उनले भने, ‘कुनै पनि काम गर्दा त्यसको कार्यबोझ त सँधै हुन्छ नै, त्यस्तो उहाँमाथि बैंक, बोर्ड वा व्यवस्थापकीय तहबाट कुनै दबाब थिएन । घटना विवरण अनुसार सुसाइड गरेको भन्ने जानकारी छ । व्यक्तिगत समस्या भने उहाँले केही बताउनु भएको थिएन ।’
अधिकृतस्तरको जागिरे शर्माको घटनाले अब बैंक तथा वित्तीय संस्थाहरुले मेन्टल हेल्थमा पनि ध्यान दिनु पर्ने देखिएको डेपुटी सीईओ पनेरुले बीमापोष्टलाई बताए । उनले भने, ‘अब हामीले संस्थासँग जोडिएका व्यक्तिहरुको मेन्टल हेल्थमा पनि काम गर्नु पर्ने देखियो । अब हामी यसलाई आधिकारिक रुपमै कार्यान्वयन गर्छौँ । कार्यालय समय मै यस्तो घटना हुनुले हामीलाई झस्काएको छ ।’ हामी यस मामलामा गम्भीर छौँ ।











