राष्ट्र बैैंकले एक महिनामा १२औँ पटक निक्षेप तान्दै, बुधबार २५ अर्बको बोलकबोल

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्दै छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक हो ।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भएर बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था भए पनि पछिल्लो समय केन्द्रीय बैंकले बोलकबोलबाटै पैसा तानिरहेको छ ।
बुधबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो । मंसिर ६ गतेदेखि बुधबारसमेत गरेर १२ पटक संकलन गर्दैछ । मंगलबारसम्म राष्ट्र बैंकले एक खर्ब ६५ अर्बका लागि आह्वान गरेको थियो । त्यसमध्ये एक खर्ब ४७ अर्ब २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको छ ।
प्रणालीमा अहिले ३३ अर्ब रुपैयाँ अधिक तरतला छ । यो अनिवार्य तरलता अनुपात (सीआरआर) घटाएर हो । यद्यपि, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)युक्त तरलता भने ६ खर्ब रुपैयाँको हाराहारी छ ।











