कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार होः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएको बताएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै कर्जा सम्बन्धि ऋणीहरुलाई आवश्यक जानकारी गराएको हो ।
‘कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी ह्न्छन् । यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नविकरण गर्दा, कर्जाको पुनसंरचना वा पुनरतालिकरण गर्दा वा नियमित समीक्षा गर्दासमेत आवश्यक पर्दछ’ सूचनामा उल्लेख छ ।
साथै, केन्द्रिय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धि निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोेको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ ।











