भने जस्तो छैन अर्थतन्त्रको चित्र, समग्र बजार माग ४१ प्रतिशतले खस्कियो : सीएनआई

काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहेका बेला निजी क्षेत्रले त्यस्तो नभएको तथ्य बाहिर ल्याएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको सर्भेले समग्र बजार माग नै खस्किएको तथ्य बाहिर ल्याएको हो । जसमा परिसंघले विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको भनेको छ ।
सीएनआईको सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा गत आर्थिक वर्षको तुलनामा थप १२.०६ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्ष समग्र बजार मागमा २८.२८ प्रतिशतले ह्रास आएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र माग कूल ३६.९३ प्रतिशतले खुम्चिन पुगेको छ । यस्तै, उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा यो आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा कूल ३०.५४ प्रतिशतले खुम्चिएको छ ।
अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर देखिएको थियो । जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ । सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् ।
क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ ।
उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२ प्रतिशतले संकुचन आएको देखिएको छ ।
परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।











