वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घट्यो

काठमाडौं । पुसको तुलनामा यही माघमा वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घटेको छ । गत पुसमा एकवर्षे मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ८।९४ प्रतिशत कायम रहेकामा माघमा घटेर ८।०५४ प्रतिशतमा झरेको छ । यसले गत पुसको तुलनामा माघमा निक्षेपको अधिकतम औसत ब्याजदर ०।८९ प्रतिशत विन्दुले घटेको देखाउँछ ।
पुसको तुलनामा माघमा साधारण बचतको औसत ब्याजदर पनि ०।४४ प्रतिशत विन्दुले घटेको छ । पुसको तुलनामा माघमा प्रायः बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । नघटाएका बैंकले पनि बढाएका छैनन् । यसकारण बैंकहरूको निक्षेपको औसत ब्याजदरमा कमी आएको हो ।
पछिल्ला महिनामा निरन्तरजसो बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइरहेका छन् । निक्षेपको ब्याज घटेसँगै आधार दर ९बेस रेट० पनि घट्ने भएकाले ऋणको ब्याजदर पनि घटेको छ । बैंकपिच्छे आधार दर फरकफरक रहेकाले यति नै दरमा कर्जाको ब्याजदर घट्यो भन्ने यकिन तथ्यांक नभए पनि प्रायः सबै बैंकमा ०।५० प्रतिशत विन्दुले कर्जाको ब्याजदर घटेको बताइएको छ ।
माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९।१५ र न्यूनतम ७।२६ प्रतिशत छ । बैंकहरूको औसत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८।०५४ र न्यूनतम ६।६३३ प्रतिशत छ । साधारण बचतको अधिकतम ब्याजदर ६।८५ र न्यूनतम ३।६० प्रतिशत छ । औसतमा अधिकतम ब्याजदर ५।६१७ र न्यूनतम ४।०३७ प्रतिशत छ ।
सामान्यतया निक्षेपको ब्याज घट्दा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा पर्छ । किनकि निक्षेपको ब्याज घट्दा बैंकको लागत ९खर्च० पनि घट्छ, यसले आधार ब्याजदर कम हुन्छ । आधार दर ९बेस रेट० कर्जाको ब्याज निर्धारण गर्ने आधार हो । यसअनुसार आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ भने बढ्दा बढ्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक दर र नीतिगत दर तथा निक्षेप संकलनको बोलकबोल दर पनि घटाएको छ । अपेक्षाअनुसार ब्याजदर नघटिरहेको भन्दै राष्ट्र बैंकलाई चौतर्फी दबाब बढेपछि समीक्षामार्फत उल्लिखित दर घटाइएको हो । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । बजारमा पैसा धेरै भएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले धमाधम पैसा झिकिरहेको छ । यही कारण अब कर्जाको ब्याजदर झनै घट्ने बैंकरहरूको दाबी छ ।
राष्ट्र बैंकका अनुसार गत बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ५० अर्ब रुपैयाँ अधिक तरलता ९अनिवार्य नगद मौज्दात –सीआरआर० छ । बैंकहरूबीचको सापटी दर ९अन्तरबैंक ब्याजदर० तीन प्रतिशतभन्दा कम छ । बैंकहरूको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८० प्रतिशत हाराहारीमा छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले बढीमा ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्न पाउँछन् । यसका आधारमा हाल बैंक तथा वित्तीय संस्थासँग हाल ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी छ ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि अपेक्षित रूपमा कर्जाको माग बढेको छैन । यहीकारण अन्तरबैंक ब्याजदर बढ्न सकेको छैन भने तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तानिरहेको छ । पछिल्लो डेढ महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र करिब ३ खर्ब रुपैयाँ तानिसकेको छ । यिनको परिपक्व अवधि थोरै हुन्छ । यसकारण पछिल्लो डेढ महिनामा निक्षेप संकलनमार्फत करिब ३ खर्ब रुपैयाँ बजारबाट ताने पनि आइतबारसम्म हाल करिब ६५ अर्ब ३१ करोड रुपैयाँ मात्र लगानीमा ९आउटस्ट्यान्डिङ० रहेको राष्ट्र बैंकले जनाएको छ ।











