ब्याजदर घटेको भन्दै भ्रम फैलाउँदै बैंकहरु, निक्षेपको घटाए पनि ऋणको ब्याजदर घटेन

काठमाडौं । भर्खरै चालु आवको दोस्रो त्रैमासिक सेसन क्लोज भएको छ । तेस्रो त्रैमासको सुरुवातसम्म आईपुग्दा पनि गत भदौंदेखि घटेको बैंकको ब्याजको राहत ऋणीसम्म पुगेको छैन ।
मकवानपुरका सामान्य किसान पेशा गर्दै आएका भिमसेन घिमिरेले कृषि विकास बैंकबाट लिएको ऋणको ब्याजदर अझै करिब १२ प्रतिशत रहेको छ । त्यस्तै, हेटौडाकै कामना सेवा विकास बैंकबाट ऋण लिएका एक ऋणीले १४.०२ प्रतिशत ब्याज तिर्नुपरिरहेको घुनासो गरेका छन् । बैंकहरुले गत भदौंदेखि नै ब्याजदर घटाउँदै आएको भन्दै प्रचार गरिरहेका छन् । तर, जब ऋणीले बैंकको ब्याज र किस्ता तिर्ने समय आउँछ तब ब्याज घटेको पाइएको छैन । एनआईसी एसिया बैंकबाट ऋण लिएका काठमाडौंका एक ऋणीले बैंकले अचाक्ली महंगो ब्याजदर नघटाएर हैरान पारेको भन्दै गुनासो गरेका छन् ।
माथि उल्लेखित घटनाहरु प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले नेपाली बैंकहरुले आफ्ना ऋणीहरुलाई चर्को ब्याज लिएर ठगी गरिरहेको तथ्य फेला परेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने र निक्षेपको ब्याजदर घटेपछि बेस रेट घटेर स्वतः ब्याजदर घट्छ भन्ने तर्क गरेर ऋणीहरुले फुरुङ्ग पार्दै आएका छन् । तर, यसको भित्री पाटोको अध्ययन गर्दा अर्कै तथ्य समेत भेटिने गरेका छन् ।
बैंकबाट लिएको ऋणको ब्याजदर बेस रेटको आधारमा गणना हुने भएपनि बैंकहरुको बेस रेट नै घटिसकेको छैन । बैंकहरुले विगतमा स्थीर ब्याजदरमा लिएको निक्षेपको ब्याजदर घटाउन नपाइने भएकोले पनि बेसरेट निकै माथि पुगेको चर्चा यतिबेला चलिरहेको छ । केही बैंकहरुले संकटका बेला २० वर्षपछिसम्मको लागि ब्याजदर निश्चित गरेर ऋण लिएका थिए । नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गर्न नसक्दा बैंकहरुको चरम लापरवाहीको सिकार सोझा व्यवसायी तथा उद्यमीहरु परेका छन् ।
अधिकांश बैंकहरुको निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । तर, बैंकहरुले अझै पनि उद्यमी व्यवसायीहरुसँग १२ प्रतिशतभन्दा माथि १५ प्रतिशतसम्म ब्याज असुली गरिरहेका छन् । यसले सिंगो बैंकिङ सिष्टम र नियमनपति गम्भिर प्रश्न चिन्ह उठेको छ । नियामक मौन रहेर बैंकभित्र हुने सबै प्रकारका अपराधलाई उन्मुक्ति दिँदा पहुँचवालाहरुले सस्तोमा ऋण पाउने र गरिब अनि निमुखा जनताले महंगो ब्याजदर तिर्न बाध्य हुने अवस्थाको अन्त्य हुन सकेको छैन ।
एकातिर बैंकले निक्षेपको ब्याजदर लगातार घटाइरहने अर्कोतर्फ ऋणीले तिर्ने ब्याजदर नघट्दा आम जनतामा बैंकहरुप्रति नै विश्वास गुम्ने अवस्था सिर्जना हुनेतर्फ सचेत नहुने हो भने भविष्यमा भयावह अवस्था आउनेतर्फ पनि सोच्ने हो की ?











