शेयर बजारमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ४६ वटा शंकास्पद कारोबार, एकैपटक ८ बाट बढेर ४६ पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी (अनुसन्धान) ईकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली पुँजि बजारमा गत वर्ष कूल ४६ वटा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद कारोबार भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार विभिन्न सेक्युरिटिज कम्पनीबाट भएका कारोबार मध्ये ४६ वटा शंकास्पद रुपमा हेरिएको हो । ति कुन कुन कम्पनीका कुन कुन भन्ने तथ्य बाहिर प्रकाशित छैन ।
प्रतिवेदनका अनुसार गत वर्षमा टिटिआर रिपोर्टिङ गरिएका एक लाख ३१ हजार ७११ वटा कारोबार मध्ये ४६ वटा शंकास्पद देखिएको हो । पुँजि बजारमा एकै दिन १० लाख रुपैयाँको शेयर खरिद वा बिक्री गर्दा सम्पत्ति शुद्धिकरण निवारण गोएएमएलको इन्ट्री गर्नुपर्ने कानुनी व्यवस्था छ । एकै पटक वा पटक पटक गरी एकै दिन लाख रुपैयाँसम्मको कारोबार गरेको अवस्थामा खरिद वा बिक्री जुनसुकै गर्नेको विवरण थ्रेसहोल्ड रिर्पोटिङ गरिएको हुन्छ । सोही मध्येबाट विश्लेषणको आधारमा तथा गतिविधि शंकास्पद लागेको अवस्थामा ब्रोकर कम्पनीले गोएएमएल सफ्वटयरमा रिर्पोटिङ गर्नुपर्ने हुन्छ ।

सोही प्रक्रिया अन्तर्गत रिपोर्टिङमा गत वर्ष ४६ वटा कारोबार परेका हुन् । अघिल्लो आव अर्थात २०७८।०७९ मा यस्तो रिर्पोटिङ निकै कम अर्थात आठ मात्रै कारोबारलाई शंकास्पद रुपमा हेरिएको थियो । यस वर्ष शेयर बजारमा शंकास्पद कारोबारको संख्या ह्वात्तै बढेको देखिएको छ । यद्यपि बैंक तथा वित्तिय संस्थाहरुको तुलनामा निकै न्यून रहेको देखिन्छ ।











