राष्ट्रिय स्तरका विकास बैंक: कुन सूचकमा को अगाडि ?

१० माघ २०८०, बुधबार १३:०९

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश सूचकमा गरिमा र मुक्तिनाथ विकास बैंकको प्रतिस्पर्धा रहेको छ ।गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा केहि घटेको छ । अधिकांश बैंकको नाफा संकुचन आएको चाल आर्थिक वर्षको ६ महिनाको तथ्याङले देखाएको छ । बैंकहरुको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको हो ।

नाफामा गरिमा पहिलो, पछ्याउँदै मुक्तिनाथ
चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा आठ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्य गरिमा पहिलो नम्बरमा रहेको छ । गरिमाको नाफा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

दोस्रो नम्बरमा रहेको मुक्तिनाथ विकास बैंकको ४२ करोड १७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, क्रमशः शाइन रेसुङ्गाको ३७ करोड १२ लाख ७ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको २७ करोड ८० लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २५ करोड ८९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २१ करोड २२ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड १० लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको १० करोड २ लाख रुपैयाँ नाफा कमाएका छन् ।

मुक्तिनाथ र सांग्रिलाको वितरणयोग्य नाफा ऋणात्मक, अन्यको कस्तो ?
चालु आर्थिक वर्षको ६ महिनाको रिपोर्ट हेर्दा मुक्तिनाथ विकास बैंक ३१ करोड ७२ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेका छन् ।

त्यस्तै, वितरणयोग्य नाफामा गरिमा विकास बैंकको २ करोड ९१ लाख रुपैयाँ, शाइन रेसुङ्गाको ६ करोड ७४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६ करोड ८३ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १७ करोड ४५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ५० लाख रुपैयाँ र ज्योति विकास बैंकको २४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

चुक्तापूँजीमा मुक्तिनाथको अग्रता, गरिमा र शाइन रेसुङ्गाको कति ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण हेर्दा चुक्तापूँजीमा मुक्तिनाथ प्रथम रहेको छ । कम्पनीको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, चुक्तापूँजीमा गरिमाको ५ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ, शाइन रेसुङ्गाको ४ अर्ब ७३ करोड रुपैयाँ, महालक्ष्मीको ४ अर्ब १७ करोड रुपैयाँ, कामना सेवा विकास बैंकको ३ अर्ब २८ करोड रुपैयाँ, लुम्बिनी विकास बैंकको ३ अर्ब ५१ करोड, ज्योतिको ४ अर्ब ३९ करोड र सांग्रिलाको ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी कुन बैंकको कति ?
खुद ब्याजमा समेत मुक्तिनाथ विकास बैंक २ अर्ब ८ करोड ७७ लाख रुपैयाँ सहित अग्र स्थानमा रहेको छ । दोस्रो स्थानमा गरिमाको १ अर्ब ८० करोड ५० लाख रुपैयाँ र तेस्रो स्थानमा ज्योतिको १ अर्ब १२ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, शाइन रेसुङ्गाको १ अर्ब ४ करोड १३ लाख रुपैयाँ, महालक्ष्मीको ८९ करोड २४ लाख रुपैयाँ, कामनाको ९५ करोड ८८ लाख रुपैयाँ, लुम्बिनीको ८५ करोड ९४ लाख रुपैयाँ र सांग्रिलाको ९४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।

प्रतिसेयर आम्दानीमा टप वान गरिमालाई पछ्याउँदै कामना र साइन रेसुङ्गा
चालु आर्थिक वर्षको ६ महिनामा गरिमाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै, कामनाको १५ रुपैयाँ ७८ पैसा, साइन रेसुङ्गाको १५ रुपैयाँ ६८ पैसा, महालक्ष्मीको १३ रुपैयाँ ३३ पैसा, लुम्बिनीको १२ रुपैयाँ ७ पैसा, मुक्तिनाथको ११ रुपैयाँ ९२ पैसा, सांग्रिलाको ५ रुपैयाँ ८४ पैसा र ज्योतिको ४ रुपैयाँ ६ पैसा प्रतिसेयर आम्दानी रहेको छ ।

तीन बैंकको खराब कर्जा ४ प्रतिशत माथि
चालु आर्थिक वर्षको पुष समान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकमा सांग्रिलाको खराब कर्जा सबै भन्दा बढी ४.८९ प्रतिशत रहेको छ ।

खराब कर्जा ज्योतिको ४.८८ प्रतिशत, महालक्ष्मीको ४.२१ प्रतिशत, कामनाको ३.४२ प्रतिशत, लुम्बिनीको ३.५५ प्रतिशत, गरिमाको २.९५ प्रतिशत, साइन रेसुङ्गाको २.६२ प्रतिशत र मुक्तिनाथको २.५१ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*