ऋण नतिरेपछि मृतक पूर्व सांसद सुबासचन्द्र नेम्वाङको नाममा एक महिनाभित्र साँवा ब्याज तिर्नको लागि बैंकको सूचना

१० माघ २०८०, बुधबार १४:२९

काठमाडौँ । नेपाल बैंकले स्वर्गीय पूर्व सांसद सुबासचन्द्र नेम्वाङ नाममा लिलामीको सूचना निकालेको छ । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि बैंकले धितो लिलामीको सूचना निकालेको हो ।

बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देव कुमारी लिम्बु (सुवास नेम्वाङको बुहारी) र रुद्रप्रसाद (काजिमान) गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क) मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैत्रमा गरी डेढ करोड रुपैयाँ ऋण लिएका थिए ।

तर, ऋण लिएको लामो समय बित्दा पनि ऋणको किस्ता नआएपछि बैंकले ऋण तिर्न ताकेता गर्न सुरु गरेको थियो । ऋण चुक्ता गर्नका लागि पटकपटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि अहिले बैंकले धितो लिलामीको सूचना निकालेको छ ।

यसो त बैंकले यसअघि नै कर्जा लिएका ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । तर, नेम्वाङ स्वयम आफैँले कर्जा चुक्ता गर्ने भने पछि बैंक त्यसबेला ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने कार्यबाट पछि हटेको थियो ।तर, नेम्वाङको निधन भइसक्दा पनि ऋणीले ऋण चुक्ता गर्ने कुनै छाँटकाँट नदेखाएपछि लिलामीको सूचना निकाल्न बाध्य भएको बैंकले जनाएकोछ।

बैंकका अनुसार नेम्वाङको जग्गा धितो राखेर लिइएको ऋणमध्ये एक करोड ५० लाख रुपैयाँ साँवा र ब्याज करिब ८० लाख रुपैयाँ तिर्न बाँकी छ ।बैंकले लिलामीको सूचना जारी गरेको मिति (२०८० माघ ५ गते) ले ३५ दिनभित्र ऋणी तथा व्यक्तिगत जमानकिर्तालाई बैंकको सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न अन्तिम मौका दिइएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*