निर्माण व्यवसायीको २० अर्ब असार मसान्तभित्र भुक्तानी गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुको २० अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी २० अर्ब रुपैयाँ चालु आर्थिक वर्षभित्र भुक्तानी गन सरकारलाई आग्रह गरेको हो ।
सरकार अल्पमतमा परेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले राजिनामा बुझाएसँगै निर्माण व्यवसायीहरु चिन्तामा परेका छन् । व्यवसायीहरुलाई पूर्वमन्त्री महासेठले असार मसान्तभित्र उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका थिए ।
महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानी रोक्दा व्यवसायीहरु निकै समस्यामा परेको बताए। ‘सरकारले भुक्तानी रोक्दा व्यवसायी निकै समस्यामा परेका छन्। सम्पत्ति लिलाम हुने अवस्था आएको छ। विकास निर्माणका काम पनि पैसा अभावले सुस्त हुन पुगेको छ,’ उनले भने।
चालु आयोजनामा काम गरेको रकम नै सरकारले २० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ । अध्यक्ष सिंहका अनुसार निर्माण व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका आयोजनाको १३ अर्ब, सिंचाइ मन्त्रालय अन्तर्गतका आयोजनाको २.५ अर्ब तथा खानेपानी र अन्य मन्त्रालयको ४.५ अर्ब भुक्तानी पाउन बाँकी छ ।












