चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले आठ महिनामा गर्यो ३६ करोड ३० लाख रुपैयाँको व्यापार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले आठ महिनामा साढे ३६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ३८ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको अध्यक्ष निर्वाण चौधरी हुन् । कम्पनीले नेपालका १७ वटा जिल्लामा सेवा दिदै आइरेको थियो ।
कम्पनीले २ अर्ब ५० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । १४ करोड ८२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र २ अर्ब ३५ करोड १८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ ।

२००३ नोभेम्बर २१ मा चौधरी ग्रुपले लिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र तोकिएको अवधिभित्र नवीकरण नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ। ‘नवीकरणका लागि दूरसञ्चार नियमावली ५०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकाले सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वतः रद्द भएको छ,’ प्राधिकरणले भनेको छ।












