घिसिङलाई कर्मचारी संगठनले भनेः ‘बक्यौता नतिरि बिद्युतको लाइन नजोड्नु होला’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कर्मचरीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिद्युतको बक्यौता नतिरी ती उद्योगहरुमा बिजुली लाइन जोड्न नहुने धारणा राखेका छन् । बक्यौता नतिरि बिद्युतको लाइन जोडेमा आन्दोलन गर्ने चेतावनी पनि कर्मचारीहरुले दिएका छन् ।
आइतबार विभिन्न राजनीतिक दलसँग सम्बन्धित कर्मचारी युनियनहरुले घिसिङ समक्ष विज्ञप्ति बुझाउँदै बिद्युत बक्यौता नतिर्ने उद्योगमा लाइन नजोड्न आग्रह गरेका हुन् । उनीहरुले कसैको दबाब र प्रभावमा नपर्न पनि घिसिङलाई आग्रह गरेका छन् । उनीहरुले प्राधिकरणको सञ्चालक समितिको निर्णयमा अडिग रहन आग्रह गरेका हुन् ।
‘नेपाल विद्युत प्राधिकरणको भविष्य, सिंगो देशको विद्युत विकासको भविष्यसँग जोडिएकोले प्राधिकरणलाई हानी नोक्सानी हुने काम कहीं कतैबाट नहुने कुरामा हामी विश्वस्त छौं, डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा हामी क्रियाशिल ट्रेड युनियनहरु नेपाल विद्युत प्राधिकरणलाई आईपर्ने हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहने व्यहोरा अवगत गराउँदै प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।













