गत आवको चौथो त्रैमासम्ममा निर्जीवन बीमकको व्यवसाय ४१ अर्ब बढी, व्यवसायमा शिखर र वृद्धिदरमा ओरियन्टल अग्रस्थानमा

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ४१ अर्ब रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा २ करोड ८४ लाख ९९ हजार वटा बीमालेख बिक्री गर्दै उक्त कारोबार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्थांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको उक्त आर्जन २ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० मा ४० अर्ब २१ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए ।
तथ्यांक अनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा पाँच अर्ब ४७ करोड तीन लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.९० प्रतिशतले पाँच अर्ब ३१ करोड रुपैयाँबाट वृद्धि भएको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ४.५० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा चार अर्ब ५८ करोड रुपैयाँ रहेको कुल बीमा शुल्क आर्जन चार अर्ब ५८ करोड रुपैयाँबाट वृद्धि भई चार अर्ब ७८ करोड रुपैयाँ पुग्न सफल भएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चार अर्ब १७ करोड रुपैयाँ, हिमालयन एभरेष्टले तीन अर्ब ७२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्यारेन्सले तीन अर्ब १४ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ७२ करोड रुपैयाँ, सानिमा जिआइसीले दुई अर्ब ६१ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले दुई अर्ब ५५ करोड रुपैयाँको कुल व्यवसाय गर्न सफल भएका छन् ।
वृद्धिदरका आधारमाः
अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुमध्ये दि ओरियन्टल इन्स्योरेन्सको व्यवसाय सबैभन्दा बढी अंकले बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय ४४.१६ प्रतिशतले वृद्धि भएको छ । जुन तारिफयोग्य रहेको छ ।
साथैै, नेशनल इन्स्योरेन्सको १७.६५ प्रतिशत, सानिमा जिआइसीको १२.६५ प्रतिशत, हिमालयन एभरेष्टको ११ प्रतिशत, आइजीआई प्रु्रुडेन्सियल, नेको र प्रभु इन्स्योरेन्सको ७ प्रतिशतले व्यवसाय वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको ३१.१९ प्रतिशतले सर्वाधिक घटेको छ ।













