वाणिज्य बैंकहरुले शेयर बजारबाट कमाए ६ अर्ब ८ करोड, सानिमा र एभरेष्टको लोभलाग्दो ग्रोथ

काठमाडौँ । एक वर्षको अवधिमा बैंकहरुले शेयर बजारबाट ६ अर्ब रुपैयाँको आम्दानी गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा शेयर बजार ६ अर्ब ८ करोड ८ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेका हुन् । बैंकहरुले गरेको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले शेयर बजारबाट ५ अर्ब ४० करोड ५२ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
केन्द्रिय बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत पुँजी बजारमा लगानी गर्न ब्यवस्था गरेको छ । सोहि बमोजिम बैंकहरुले शेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने हुन्छ । गत वर्ष शेयर बजारमा आएको निराशाबीचमा समेत बैंकहरुले सन्तोषजनक आम्दानी गरेका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार शेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा स्टान्डर्ड चाटर्ड बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकले ६७ करोड ८६ लाख ९७ हजार रुपैयाँ शेयर बजारबाट कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड २१ लाख ४७ हजार रुपैयाँ पुँजी बजारबाट कमाएको हो ।

गत वर्ष आधा दर्जन बैंकको शेयर कारोबारबाट हुने आम्दानीमा गिरावट आएको छ भने अन्य १४ बैंकहरुले बढाएका छन् । मार्केटबाट सर्वाधिक कमाई बढाउने कम्पनीमा सानिमा बैंक रहेको छ । सानिमाले यसअवधिमा बजारबाट हुने आम्दानी १३८.३ प्रतशतले बढाएर ५१ करोड ७७ लाख ७० हजार रुपैयाँ पुराएको छ । शेयर बजारबाट धेरै कमाइ हुने बैंकहरुले मध्ये सानिमा चौथो नम्बरमा रहेको छ ।
साथै, शेयर बजारबाट गत वर्ष असारसम्ममा ग्लोबल आइएमई बैैंकको आम्दानी २२.३८ प्रतिशतले बढेर ५८ करोड ८ लाख रुपैयाँ, नबिल बैंकको १०.२९ प्रतिशतले बढेर ५३ करोड ६६ लाख रुपैयाँ, हिमालयन बैंकको १०.२५ प्रतिशतले बढेर ४२ करोड १८ लाख रुपैयाँ,प्रभु बैंकको ३६.७ प्रतिशतले घटेर ३८ करोड ४५ लाख रुपैयाँ र कुमारी बैंकको ०.९३ प्रतिशतले बढेर ३६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यता, एभरेष्ट बैंकको ८५.२२ प्रतिशतले बढेर ३३ करोड ८५ लाख रुपैयाँ, एनएमबि बैककको १६.३५ प्रतिशतले बढेर २७ करोड ४९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२.८१ प्रतिशतले बढेर २६ करोड २९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २०.०७ प्रतिशतले बढेर २३ करोड २ लाख रुपैयाँ, प्राइम बैंकको २.१७ प्रतिशतले बढेर १५ करोड ३६ लाख रुपैयाँ, नेपाल बैंकको ४२.९८ प्रतिशतले बढेर ११ करोड २४ लाख रुपैयाँ र गत वर्ष २८ लाख ५० हजार ऋणात्मक रहेको कृषि विकास बैकले ५ करोड ११ लाख रुपैयाँ शेयर बजारबाट कमाएका हुन् ।
६ वटाको घट्यो
शेयर बजारबाट हुने आम्दानी ६ बैंकको घटेको छ । गत वर्ष कृषि विकास बैंकको शेयर कारोबारबाट हुने आम्दानी ५६.१२ प्रतिशतले घटेर ५ करोड ६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २७.८८ प्रतिशतले घटेर २० करोड २२ लाख रुपैयाँ, नेपाल एसबिआइको ५१.४८ प्रतिशतले घटेर १६ करोड १९ लाख रुपैयाँ, सिटिजन्सको १४.३५ प्रतिशतले घटेर १५ करोड ६० लाख रुपैयाँ, एनआइसी एशियाको १२.५ प्रतिशतले घटेर १२ करोड ८६ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट समहको ७.५ प्रतिशतले घटेर ४६ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।












