क्रिप्टो कारोबारीसँग ५० लाख असुली: दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी मुद्दा दायर

काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलीको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ। यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साजन शर्मा चपाई र खोटाङका तेजबहादुर तामाङ संलग्न रहेको आरोपमा मुद्दा चलाइएको हो।
प्रहरीका अनुसार, तामाङ फरार रहेका छन् भने खड्का र चपाईलाई पक्राउ गरिएको छ। तीन जनाले क्रिप्टो कारोबारी आशिष आचार्यलाई पक्राउ गरी दुई दिनसम्म हिरासतमा राखी ५० लाख रुपैयाँ असुलेर छाडिएको खुल्न आएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उनीहरूविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ।












