उपभोक्ता ठग्ने युनिलिभरले सरकारको कर प्रणालीमाथि धावा बोल्यो

१३ कार्तिक २०८१, मंगलवार १२:१०

काठमाडौं । अत्यधिक मुनाफा कमाइरहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालको कर प्रणालीमाथि घोषित रुपमा धावा बोलेको छ । नेपालको कर प्रणालीलाई चुनौति दिँदै युनिलिभरले आफ्ना शेयरधनीलाई वर्षौदेखि निरन्तर नगद लाभांशमा टार्ने गरेको छ । नेपाल धितोपत्र बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत युनिलिभरले अहिलेसम्म शेयरधनीलाई बोेनस शेयर बाँड्ने अभ्यास सुरु गरेको छैन ।

दुई रुपैयाँ पर्ने साबुनलाई ५० रुपैयाँमा विक्री गर्ने युनिलिभरले भगीनी अर्थात् सहायक कम्पनीमार्फत थप पुँजी विस्तार र लगानी समेत नगरेको गुनासो कम्पनीको ३१औं वार्षिक साधारण सभा मै उठेको छ ।

नेपाली उपभोक्तामाथि चरम ठगी गरिरहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरले थप पुँजी विस्तार र लगानीको साटो कर प्रणालीलाई नै चुनौति दिएर हजारौँ गुणाबढी मुनाफा राख्ने गरेको तथ्य भेटिएको छ । कानून अनुसार ३० प्रतिशतभन्दा बढी नाफा राख्न पाइँदैन । यसरी नेपालको कर नीतिविरुद्ध युनिलिभरले चलाएको घोषित अभियानले मुलुक अफ्रिका त बन्दैन भन्ने चिन्ता बढ्दै गएको छ ।

अत्यधिक मुनाफा राखिरहेको युनिलिभरले कामदार वर्गको श्रम शोषण गर्नेदेखि विभिन्न बदमासीहरु गर्दै आएको छ । केही समयअघि मात्रै हेटौंडा महानगर ३ स्थित उद्योगबाट उत्पादित वस्तु अन्यत्र लगेर पुनःप्याकिङ र रिलेबलिङ गरेको भेटिएको थियो ।

जवाफमा उसले मूल्य फेरबदल भएकाले पुनःप्याकिङ र लेबल लगाउन करार सम्झौता गरेर काम गरिएको प्रतिक्रिया दिएको थियो । उद्योग परिसरमा बायो सेक्युरिटी अपनाउने र उत्पादनको भण्डारणमा ठुलो मूल्य र कर्मचारी खर्चने युनिलिभर सामान्य ट्रस्टको भवनबाट पुनःप्याकिङ र रिलेबल गरिरहेको कुरा अझै रहस्यमय नै छ ।

प्रशासकीय कर्मचारी, प्राविधिक तह र न्यायालयसम्मै युनिलिभरको ठूलो प्रभाव छ । प्रशासकहरूलाई प्रभावमा पारेर उसले पटक–पटक उपयोगहीन सामग्री बजारमा बेच्न लगेको छ भने कतिपय अवस्थामा न्यायाधीशको जागिर नै चट् पारिदिएको छ । २०७३ साउनमा उसले आफैंले कर्मचारीसँग गरेको बन्द हड्ताल गर्न नपाउने सम्झौता विपरीत व्यवस्थापकहरुलाई उद्योगमा तालाबन्दी गर्न लगाएर कर्मचारीलाई थुन्न लगाएको थियो । यस्ता, चलाखी गर्न सिपालु युनिलिभर अहिले घोषित रुपमै नेपालको कर प्रणालीविरुद्ध अभियान चलाउँदै हिँडेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*