२०५६ साल यता प्लस टु फेल भएकालाई मौका परीक्षाको अवसर
२५ कार्तिक २०८१, आईतवार १०:५७

काठमाडौंँ । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ।
रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्। यसर्थ २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्।
अंकन प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। त्यस्ता विद्यार्थीहरूले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ।














