प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मंसिर ६ गते बिहीबार प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन्।
मंसिर ७ र ८ गते शेयर बजार बन्द हुने भएकाले आजसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागी हुने र लाभांश पाउने अवसर प्राप्त गर्नेछन्।
ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा वार्षिक साधारण सभा बोलाएको छ।
यस्तै, प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस प्रस्तावलाई पारित गर्न बैंकले मंसिर १९ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकालीमा वार्षिक साधारण सभा आयोजना गर्नेछ।
लाभांश सुरक्षित गर्न इच्छुक लगानीकर्ताले आजभित्रै शेयर खरिद गर्नुपर्नेछ।












