कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।
बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे ।
‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं ।’
मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए ।
‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे ।
‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’
मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरुको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।
‘३ महिना बढी पालो पर्खनुपरेको गुनासो आएको छैन’
मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् ।
मन्त्री पौडेलले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गरे ।













