२९७ किमि प्रसारण लाइन निर्माणका लागि एमसिए–नेपालले पुनः बोलपत्र आह्वान

काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि लामो विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ। मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने यो प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सशक्त बनाउँदै ऊर्जा पूर्वाधारलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली, र नयाँ दमौली–नयाँ बुटवल गरी तीन खण्डमा विभाजन गरिएको यस प्रसारण लाइनको निर्माणका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति २०८१ माघ १७ गते तोकिएको छ।
अघिल्लो बोलपत्र प्रक्रियाको विस्तृत समीक्षापछि पुनः आह्वान गरिएको यो बोलपत्र प्रक्रियामा परिमार्जित डिजाइन, निर्माण स्थलमा सहज पहुँच, र बोलपत्रदाताहरूका सुझावका आधारमा संशोधित प्रावधानहरू समावेश गरिएको छ। यसले कार्यान्वयन योग्य र लागत–प्रभावकारी प्रस्ताव आकर्षित गर्ने विश्वास लिइएको छ।
यसअघि, एमसिए–नेपालले बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालतर्फ पर्ने १८ किमि खण्डको निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता गरिसकेको छ। यो प्रसारण लाइन २१ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि पुनः आह्वान गरिएको बोलपत्रले प्रतिस्पर्धात्मक प्रस्तावहरू आकर्षित गर्ने विश्वास व्यक्त गरे। “परिमार्जित प्रावधानहरूले कार्यान्वयन प्रक्रिया सहज बनाउँदै नेपालका ऊर्जा पूर्वाधारमा थप सुधार गर्ने मार्ग प्रशस्त गर्नेछन्,” उनले भने।
नेपाल सरकार तथा एमसीसीका वातावरणीय र सामाजिक मापदण्डको पालना गर्दै एमसिए–नेपालले प्रसारण लाइन निर्माणका सम्पूर्ण कार्यहरूलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













