लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे कानुन संशोधन गर्छौः अर्थमन्त्री पौडेल

२० मंसिर २०८१, बिहीबार १६:२५

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे कानुन संशोधन गर्ने बताएका छन्। भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को उद्घाटन गर्दै उनले व्यवसायीलाई निराश नहुन आग्रह गरे।

अर्थतन्त्र सुधारको क्रममा रहेको बताउँदै मन्त्री पौडेलले भने, ‘हामी सरकारमा आउँदा समस्याको चाङ थियो। अब यो सरकारले ती समस्याको समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनेछ।’ उनले निजी क्षेत्रको मनोबल बढाउन सरकार दृढ रहेको बताए।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उनले उल्लेख गरे। ‘समस्याहरू समाधान गर्दै विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गरिन्छ’ उनले भने। साथै, भैरहवालाई आधुनिक सहरका रूपमा विकास गर्न सरकारको योजना रहेको र निर्माणाधीन आयोजनाहरूमा निराशा फैलाउन नहुने धारणा राखे।

बुटवल–नारायणगढ सडक निर्माणका समस्याको समाधानका लागि सम्बन्धित देशसँग समन्वय भइरहेको जानकारी दिदैं उनले लुम्बिनी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए। महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*