‘एवन बजार’ रुपमा सम्पन्न, नेपाली हस्तकलामा अमेरिकी राजदूत डिन आर थम्प्सनको रुचि

काठमाडौं । विभिन्न उद्यमशिल पेशामा सहभागी एक्टिभ उमन अफ नेपाल (एवन) ले आज शनिबार राजधानी काठमाडौंको सोल्टी होटलमा ‘एवन बजार’ नामक एक दिने नेपाली बस्तुहरुको मेला सम्पन्न गरेको छ ।
नेपालमा सञ्चालित डेढ सयभन्दा बढि सक्रिय महिला उद्यमीहरुले सञ्चालन गरेका विभिन्न उद्योगका आकर्षक बस्तुहरुको मेला आयोजना गरिएको हो । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले एक समारोहका बीच सो मेलाको उद्घाटन गरेका थिए । राजदूत थम्प्सनले एवन बजार उद्यमीले उत्पादन गरेका बस्तुहरु बजारिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठको संयोजकत्वमा सम्पन्न मेलामा हजारौं अवलोकनकर्ताहरु सहभागिता थिए । अध्यक्ष श्रेष्ठले महिला उद्यमी तथा अन्य उद्यमीहरुलाई प्रोत्साहन र बजारमा एक्स्पोज दिन आजको बजार महत्वपूर्ण हुने विश्वास लिएको बताईन् ।

काठमाडौंको सोल्टी होटल परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मेला साँझ ६ बजेसम्म चलेको थियो । बजारको मुख्य प्रायोजकमा यात्रा म्यागेजिन, टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स, यती एयरलाइन्स, आइविवी वेवि डाईपर, केफ किचन एप्लाईन्सेस, अरुण चौधरी फाउण्डेसन, ग्लोबल आईएमई बैंक, सुमेरु हस्पिटल, ट्रान्क्विवालिटी स्पा, रुपिज् इन्टरनेशलन स्कूल र प्राईक कमर्सिय बैंक लगायत रहेका छन् ।
आजको एवन बजारमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । हस्तकलाका सामान, लत्ता कपडा, नेपालै उत्पादित श्रृंगारका सामान तथा नेपालको मौलिक खाद्य बस्तुहरुमा उपभोक्ताले बढि रुचि देखिएका थिए । अमेरिकी राजदूत थम्प्सनले नेपाली हस्तकलामा गहिरो अभिरुचि व्यक्त गरेको देखिन्थ्यो ।
एवन बजार नेपाली महिला उद्यमीहरुलाई उपभोक्ताका बीचमा एक्सपोज गर्ने प्रख्यात प्लेटफर्म हो । एवन बजार विगत ७५ वर्षदेखि सञ्चालन हुँदै आएको छ । यस वर्षको २०२४ संस्करण आज सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो । एक सयभन्दा बढी स्टल रहेको बजारमा महिला उद्यमीद्वारा उत्पादित स्थानीय उत्पादन, स्टार्टअप कम्पनीहरू, अर्गानिक उत्पादन, फेसनवेयर, हस्तकलाका सामग्री र क्रिसमस सजावटका सामग्रीका स्टल राखिएका थिए ।
एवन बजारमा बालबालिकाको लागि विभिन्न खेल तथा गतिविधिहरूको सुविधा रहेको थियो । नेपाली सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एवन नेपालकै पूरानो परोपकारी संस्थामध्ये एक हो ।
एवनले भूकम्प, कोभिड, बाढी पहिरोजस्ता दैवी प्रकोपमा विभिन्न सहयोग गर्दै आएको छ । साथै संस्थाले असहाय तथा विपन्न व्यक्तिलाई ह्विलचेयर वितरण, औषधि उपचार सहयोग र छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस पटकको बजारबाट आर्जित रकमबाट पनि सामाजिक काम गरिने अध्यक्ष बाबा सरकार श्रेष्ठले बीमापोष्टलाई बताईन् ।













