वैद्यको पार्टीले विप्लव, मोहन विक्रम र नारायणमानलाई दियो ‘राजावादी’को दर्जा

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विप्लव र मोहन विक्रम सिंह समूहलाई झण्डै राजावादी भनेका छन् ।
वैद्यको पार्टीले नेकपा (मसाल), नेकपा (माले), नेमकिपा र नेकपा विप्लव समूह दक्षिणपन्थी राजनीतिक पार्टीका रूपमा चित्रण गरेको हो । ती पार्टीले निम्न पुँजीपति वर्गको दक्षिणपन्थी हिस्साको प्रतिनिधित्व गरेको पार्टी संयोजक वैद्यले कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेश गरेको राजनीतिक दस्ताबेजमा चित्रण गरिएको छ ।
वैद्यको प्रतिवेदनमा मसालले मार्क्सवाद-लेनिनवाद, माओविचारधारा र सर्वहारा सांस्कृतिक क्रान्तिका मान्यता दिने तथा माओवादप्रति विमति राख्ने, नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको मान्यतालाई स्वीकार गरे पनि त्यसको कार्यान्वयन तर्फ कहिल्यै ध्यान नदिएको उल्लेख गरेका छन् । र, उनीहरु संसदवाद तथा मिलेरावादको अभ्यासमा संलग्न रहिआएको वैद्यले उल्लेख गरेका छन् ।
यस्तै मालेले मार्क्सवाद-लेनिनवाद, माओ विचारधारा र नयाँ जनवादलाई माने पनि त्यो एकातिर पुनरुत्थानवादप्रति आकर्षित हुँदै गएको र अर्कोतिर विचारधारात्मक तथा राजनीतिक प्रश्नमा अस्पष्ट रहिआएको चित्रण गरिएको छ ।
उनको बुझाइमा नेमकिपाले मार्क्सवाद-लेनिनवाद, माओ विचारधारा र समाजवादलाई अवलम्बन गरे पनि त्यो सांसदवादबाट बढी प्रदूषित रहिआएको छ । यी सबैले निम्न पुँजीवादी वर्गीय शक्तिको प्रतिनिधित्व गर्दछन् र यिनमा दक्षिणपन्थी अवसरवाद प्रभावी रहेको चित्रण गरिएको छ ।
आफैबाट टुक्रिएर गएको नेकपा विप्लव समूहले मार्क्सवाद-लेनिनवाद-माओवाद मानेको बहाना गरे पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण तथा संस्थागत गरी शान्तिपूर्ण रूपमा समाजवादमा जाने र वर्तमान संविधानको रक्षा गर्ने मान्यताप्रति प्रतिबद्ध रहँदै माओवादी, एकीकृत समाजवादी, जसपा सहितको समाजवादी मोर्चामा आवद्ध भई तथा नेकपा (माके) को सन्निकट रही दक्षिणपन्थी दिशा पक्डेको उल्लेख छ ।
साथै, यस प्रकारका राजनीतिक पार्टीहरूमा कैयौँ दिग्भ्रमित तथा इमानदार क्रान्तिकारीहरू पनि रहेका वैद्यको प्रतिवेदनमा रहेको छ । मङ्सिर १३ गतेदेखि जारी बन्दसत्रमा संयोजक वैद्यले ४१ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । शुक्रबार राजनीतिक दस्ताबेजलाई सर्वसम्मत रूपमा पारित गरिएको क्रान्तिकारीका नेताहरूले बताएका छन् ।













