वैद्यको वाणी : साम्राज्यवादको आशीर्वाद हो रविको रास्वपा

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले २०७९ को निर्वाचनबाट चौथो दलमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दलाल तथा नोकरशाही एवं सामन्त वर्गकै प्रतिनिधित्व गर्ने यथास्थितिवादी संसदीय पार्टी भएको भनी चित्रण गरेका छन् ।
मंसिर १३ गतेदेखि २३ गतेसम्म भएको एकता महाधिवेशनमा पेश गरेको दस्ताबेजमा वैद्यले रास्वपालाई नेपाली कांग्रेसभन्दा अझै अघि लगेर साम्राज्यवादको आशिर्वाद भनी अथ्र्याएका हुन् ।
‘अहिले पुरानो रैथाने संसदीय यथास्थितिवादी पार्टीसहित सबै संसदवादी राजनीतिक दलहरुलाई असक्षम, असफल तथा असमर्थ बताउदै पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रुपमा आफूलाई पेश गर्दै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएको छ र यो संसदमा पनि चौथो स्थानमा रहेको छ । रास्वपा रूपमा निकै तामझाम सहित पेश भएपनि सारमा दलाल तथा नोकरशाही एवम् सामन्त वर्गकै प्रतिनिधित्व गर्ने संसदीय यथास्थितिवादी पार्टी नै हो । यसलाई यस प्रकारका अरु पार्टीहरूको तुलनामा साम्राज्यवादको थप आशीर्वाद प्राप्त भएको छ’, वैद्यले दस्ताबेजमा भनेका छन् ।
यस्तै, पुनरुत्थानवादी राजनीतिक पार्टी अन्तर्गत मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पर्ने उनको दस्तावेजमा उल्लेख छ । निरंकुश राजतन्त्र तथा पञ्चायती व्यवस्थाको विरासतका रुपमा जन्मिएको यो पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पुनर्स्थापनालाई आफ्नो विचारधारा तथा राजनीतिको मूल आधार बनाउँदै आएको उनले उल्लेख गरेका छन् ।
राप्रपा गणतन्त्र तथा धर्म निरपेक्षताको विरोधमा उभिएको र यसले वर्गीय रुपमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्ने चित्रण वैद्यले गरेका छन् ।













