किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत निर्माणमा साढे ५ खर्ब लगानी आह्वान, स्वदेशी लगानीलाई प्राथमिकता

२३ मंसिर २०८१, आईतवार १३:०४

काठमाडौँ । विद्युत उत्पादन कम्पनी लिमिटेडले नेपालका प्रमुख जलविद्युत आयोजनाहरूमा लगानी जुटाउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलको प्रक्रिया अघि बढाएको छ । कम्पनीले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाका लागि स्वदेशी र स्थानीय लगानीकर्ताहरूलाई प्राथमिकता दिने उद्देश्यसहित लगानी आह्वान गरेको हो ।

कम्पनीले आयोजनाहरूमा न्यूनतम ५१ प्रतिशत स्वपुँजी लगानी गर्न इच्छुक नेपाली नागरिक, नेपाली नागरिकबाट प्रवर्धित कम्पनी वा नेपालमा स्थापित संगठित संस्थाहरूबाट आशयपत्र माग गरेको छ । आशयपत्र पेश गर्न मङ्सिर २९ गतेदेखि १५ दिनको समय तोकिएको छ ।

तपशिलका आयोजनाहरूः

किमाथांका अरुण जलविद्युत आयोजना
-उत्पादन क्षमताः ४५४ मेगावाट
-अनुमानित लागतः रु. ९,३८० करोड

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना
-उत्पादन क्षमताः १,९०२ मेगावाट
-अनुमानित लागतः रु. ४६,००० करोड

प्रस्ताव दर्ता गर्न प्राविधिक र आर्थिक प्रस्तावहरू छुट्टाछुट्टै शिलबन्दी खाममा पेश गर्नुपर्नेछ । किमाथांका अरुण आयोजना र मुगु कर्णाली आयोजनाका लागि न्यूनतम कबोल मूल्य क्रमशः रु. ९०८.१ करोड र रु. ४,८७२.४३ करोड तोकिएको छ । लगानीकर्ताले ५१ प्रतिशतभन्दा बढी शेयर प्रस्ताव गर्न सक्ने व्यवस्था भए पनि आर्थिक मूल्यांकनको आधार भने न्यूनतम कबोल मूल्य नै हुनेछ ।

प्राविधिक प्रस्तावले न्यूनतम ६० प्रतिशत गुणांक प्राप्त गरेपछि मात्र आर्थिक प्रस्ताव खोलिने व्यवस्था गरिएको छ । कम्पनीले सार्वजनिक–निजी साझेदारी प्रक्रियामा स्थानीय लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न विशेष जोड दिएको छ ।

लगानी प्रस्ताव पेश गर्ने इच्छुक कम्पनी वा व्यक्तिले स्थायी लेखा नम्बर (एब्ल्), पछिल्लो कर चुक्ता प्रमाणपत्र, स्वघोषणा पत्र, र लगानीको आर्थिक योग्यता पुष्टि गर्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । साथै, स्वपुँजी र ऋण लगानीको अनुपात २५ः७५ को अनुपातमा रहनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*