२ लाख २५ हजारको ईकुटर ई थ्री सार्वजनिक, एक पटक चार्जमा १२० किमीको यात्रा

२४ मंसिर २०८१, सोमबार १६:२९

काठमाडौं। जिरो इमिसन राइड एनले सोमबार राजधानीमा नयाँ इलेक्ट्रिक स्कुटर ‘ईकुटर ई थ्री’ सार्वजनिक गरेको छ। २०१७ मा स्थापना भएको ईकुटरले वातावरणमैत्री सवारीसाधनको उत्पादन गर्दै आएको छ। यो नयाँ स्कुटर सहरी र ग्रामीण दुबै क्षेत्रमा दिगो, भरपर्दो र सहज यातायातको समाधानका रूपमा प्रस्तुत गरिएको छ।

ईकुटर ई थ्री आकर्षक डिजाइन, उन्नत प्रविधि, र वातावरणमैत्री विशेषतासहित प्रस्तुत गरिएको छ। १,५०० वाट रेटेड मोटर पावर र ३,००० वाट पिक पावर भएको यो स्कुटरले १२ डिग्रीसम्मको उकालो सजिलै पार गर्न सक्छ। एक पटक चार्ज गर्दा १०० देखि १२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

यो स्कुटरमा पाँचदेखि छ घण्टामा पूर्ण चार्ज हुने ब्याट्री जडान गरिएको छ, जसको वारेन्टी २०,००० किमी वा दुई वर्षसम्मको छ। स्कुटरको मोटरमा पनि दुई वर्षको वारेन्टी उपलब्ध छ। सुरक्षा र आरामका लागि यसमा रेजेनेरेटिभ ब्रेकिङ, क्रूज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प, डबल डिस्क ब्रेक, एन्टी थिफ्ट अलार्म, ह्वील लक, र एलसीडी डिस्प्ले जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।

नेपालमा लुयुआन इलेक्ट्रिक स्कूटरको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको जिरो इमिसन राइड एनले ईकुटर ई थ्री स्थानीय स्तरमै पूर्ण रूपमा असेम्बल गरेको हो। स्कुटरको मूल्य २ लाख २५ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले यो स्कुटरले वातावरणमैत्री सवारीसाधनप्रति ग्राहकहरूको रुचि बढाउन योगदान गर्ने विश्वास लिएको छ। सहरी तथा ग्रामीण क्षेत्रका उपभोक्ताहरूका लागि दिगो र भरपर्दो विकल्प प्रस्तुत गर्दै ईकुटरले नेपालको इलेक्ट्रिक सवारीसाधन बजारमा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*