सिटिजन्स बैंकको अगुवाइमा संखुवाखोला जलविद्युत् परियोजनामा ६ अर्ब १५ करोडको लगानी

२५ मंसिर २०८१, मंगलवार ०८:३७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि ६ अर्ब १५ करोड रुपैयाँको सहवित्तीयकरण सम्झौता भएको छ।

यो परियोजनामा सिटिजन्स बैंकसँगै एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले लगानी गर्नेछन्। परियोजनाको अनुमानित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ, जसमा बैंकहरुले ७५ प्रतिशत अर्थात ६ अर्ब १५ करोड ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत स्वपुँजीबाट जुटाइनेछ।

सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ लगानी गर्नेछन्।

परियोजना कोशी प्रदेशको संखुवासभा र भोजपुर जिल्लाको सीमामा निर्माण हुनेछ। चार वर्षभित्र निर्माण सम्पन्न गरी उत्पादन थाल्ने लक्ष्य राखिएको छ। निर्माणपछि उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको संखुवासभास्थित सबस्टेशनमा जोडिनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हरित ऊर्जा क्षेत्रको विकासमा बैंकले निरन्तर योगदान गर्दै आएको बताए। हालसम्म सिटिजन्स बैंकले १२४.५४ मेगावाटका १३ आयोजना सम्पन्न गरिसकेको छ भने १६ अन्य आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्।

सिटिजन्स बैंकको हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

गुराँस हाइड्रो लिमिटेडका अध्यक्ष शिव प्रसाद घिमिरेले सबै कानुनी प्रक्रिया पूरा भएको र आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। सिटिजन्स बैंकले ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम र शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*