एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफाः नबिल र ग्लोबलको प्रतिस्पर्धा, कुनको ग्रोथ कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
कात्तिक महिनामा बैंकहरुले आर्जन गरेको नाफा असोजको तुलनामा ३७.७४ प्रतिशतले बढी हो । गत असोज मसान्तसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए । कात्तिक महिनामा मात्रै बैंकहरुले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार कृषि विकास बैंकको बाहेक अन्य सबैं बैंकको मुनाफामा आकर्षक सुधार आउको छ । कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
चार महिनाको अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल बैक रहेको छ । यसअवधिमा बैकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । जुन असोजसम्मको तुलनामा भने ३०.८५ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सर्वाधिक नाफा गर्ने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ ।
त्यस्तै, यसअवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ६२ करोड ६४ करोड, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख, प्रभू बैंकले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।












