अफरोडको हिरो भनिएको ‘जेको जे-६’ को गुणस्तरमा समस्या हो ?

काठमाडौं । अफरोड सवारी साधनको क्षेत्रमा अग्रणी बन्ने दाबीका साथ नेपाली अटो बजारमा भित्रिएको ‘जेको जे–६’ लाई लिएर चौतर्फी प्रश्न उठ्न थालेका छन्। चाइनिज ब्रान्ड चेरीको यो मोडलले नाडा अटो सो २०८१ भदौमा लन्च भएदेखि नै ग्राहकहरूको आकर्षण तान्न सफल भए पनि गुणस्तरसम्बन्धी गम्भीर समस्याहरू देखा पर्न थालेपछि यसको छवि कमजोर बनेको छ।
हालै भक्तपुर जिल्लाको विरुवा सिरुताल क्षेत्रमा ‘जेको जे–६’ ब्रेक फेल भएर दुर्घटनाग्रस्त भएको घटनाले ग्राहकहरूको चिन्ता थप बढाएको छ। दुर्घटनामा संलग्न गाडी सामान्य गतिमा चलिरहेका बेला ब्रेक फेल भएपछि सिधै दुर्घटनामा परेको बताइएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार, गाडी सामान्य टक्करबाटै पूर्ण क्षतिग्रस्त भएको थियो। यसले कम्पनीको निर्माण सामग्रीको गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ।

ग्राहकहरूले सेफ्टी मापदण्डमा समेत यो गाडी कमजोर रहेको भन्दै गुनासो गरेका छन्। अफरोडको लागि डिजाइन गरिएको भनिए पनि, सामान्य दुर्घटनामा समेत ठूलो क्षति बेहोर्नुपरेको घटनाले यसको टिकाउपनप्रति विश्वास घटाएको छ। ग्राहकहरूले यो गाडीले दिएको सेफ्टी आश्वासन कति भरपर्दो हो भन्ने प्रश्न गर्न थालेका छन्।
‘जेको जे–६’ को डिजाइनलाई समेत चर्चित ब्रान्डहरूको नक्कल गरिएको आरोप लागेको छ। धेरैले यो गाडीको बाहिरी बनावटलाई ल्याण्ड रोभर डिफेन्डर, जिप, र मर्सिडिज बेन्ज जी–वेगनको प्रतिलिपि मानेका छन्। तर, यी ब्रान्डहरूको प्रतिष्ठित छवि र विश्वसनीयता ‘जेको जे–६’ ले नेपालमा कायम राख्न असफल देखिएको छ।
नेपाली बजारमा ‘जेको जे–६’ को आधिकारिक बिक्रेता एसपीजी अटोमोवाइल्स हो। कम्पनीले यो गाडीको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यसले अफरोड सेग्मेन्टका लागि उपयुक्त इलेक्ट्रीक भेहिकलको रूपमा प्रचार गरे पनि गुणस्तर र टिकाउपनमा कमजोरी देखिएपछि ग्राहकहरूका लागि यो लगानी व्यर्थ भएको अनुभव हुन थालेको छ।
‘जेको जे–६’ मा कम्पनीले ६५ र ६९ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको दाबी गरेको छ। यो ब्याट्रीले फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने भनिएको छ। तर, ग्राहकहरूले दाबी गरिएको रेन्ज र वास्तविक प्रदर्शनबीच ठूलो अन्तर रहेको गुनासो गरेका छन्। धेरैले यो रेन्ज कम्पनीको प्रचार मात्रै भएको आरोप लगाएका छन्।
ग्राहकहरूले गाडीको अन्य प्रविधिमा पनि गुनासो गरेका छन्। विशेष गरी, ब्रेक र सस्पेन्सन प्रणालीमा देखिएका समस्याहरूले गाडी अफरोडको लागि उपयुक्त छ भन्ने दाबीमा गम्भीर प्रश्न उठाएको छ। यसका साथै, गाडीको आन्तरिक साजसज्जा र सामाग्रीको गुणस्तर पनि अपेक्षा अनुरूप नभएको ग्राहकहरूले बताउँदै आएका छन्।
छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्न सफल ‘जेको जे–६’ को गम्भीर समस्याहरू बाहिर आएसँगै यसको बिक्री र भविष्यमाथि असर पर्ने देखिएको छ। ग्राहकहरूले उच्च मुल्यमा गाडी किन्दा गुणस्तर र सेफ्टीमा सम्झौता गर्नुपर्ने अवस्था आएकाले एसपीजी अटोमोवाइल्सले ग्राहकको विश्वास पुनःस्थापना गर्न ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।
जेको जे–६ ले नेपाली बजारमा शुरुवाती चर्चा त पाएको छ, तर गुणस्तरका गम्भीर समस्याहरूले यसको छविमा नकारात्मक प्रभाव पारिरहेको छ। अफरोड गाडीको रूपमा यो गाडीले नेपाली ग्राहकहरूको मन जित्न सफल हुने वा असफल हुने भन्ने भविष्यमात्र बताउने छ।













