नेपाल उद्योग परिसंघद्वारा राजदूतसँग आर्थिक छलफलः विदेशमा लगानी प्रबद्र्धन र व्यापार वृद्धिमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले सोमबार साँझ प्रस्तावित नेपाली राजदूतहरूसँग आर्थिक विषयमा केन्द्रित छलफल आयोजना गरेको छ। छलफलको मुख्य उद्देश्य नेपालको आर्थिक समृद्धिमा राजदूतहरूको भूमिकाबारे छलफल गर्नु र विदेशी लगानी र व्यापार वृद्धिमा जोड दिए ।
परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाली राजदूतहरूलाई आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नको लागि आग्रह गर्दै भने, “नेपालसँग लगानीको सम्भावना बढाउनका लागि तपाईंहरूको भूमिका महत्त्वपूर्ण हुनेछ। विशेषगरी विदेशका लगानीकर्ताहरूसँग हाम्रो कनेक्शन थप बलियो बनाउन आवश्यक छ।”
अध्यक्ष अग्रवालले व्यापार र लगानी प्रबद्र्धनका लागि देश केन्द्रित विशिष्ट आर्थिक रणनीति अपनाउनुपर्ने कुरा पनि उठाए। उनले सबै नेपाली राजदूतावासहरूमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नको लागि प्रस्ताव गरे, जसले विदेशी लगानीकर्तासँगको सम्पर्क सहज र प्रभावकारी बनाउनेछ।
अग्रवालले विश्वका विभिन्न मुलुकहरूको उदाहरण प्रस्तुत गर्दै भने, “कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिक भन्दा आर्थिक दृष्टिले बलियो र स्थिर भएको छ। यसरी, व्यापारका माध्यमबाट नेपालको ब्राण्डिङ गर्न सकिन्छ।” उनले नेपालको ‘कन्ट्री रेटिङ’मा राम्रो स्थान पाएको र त्यसका आधारमा नेपालमा आवश्यक क्षेत्रहरूमा लगानी भित्र्याउन सकिने विश्वास व्यक्त गरे।
अग्रवालले सन् २०२६ मा नेपाललाई एक विकासशील मुलुकको सूचीमा समावेश गरिने भएकाले भविष्यमा देशले पाउँदै आएको सुविधा घट्न नदिने र नेपालको हितमा सौविद्य व्यापार सम्झौतासम्म गर्नुपर्ने बताउँदै, “हामीले आर्थिक समृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्नुपर्नेछ।”
नेपाल उद्योग परिसंघले उच्च व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुहरूको प्रबद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत र पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने कुरा पनि जोड दिएको छ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका कार्यकारी सचिव अमृत बहादुर राईले राजदूतहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भने, “राजदूतहरूले नेपाली व्यवसायीलाई विदेशी लगानीकर्तासँग सम्पर्क स्थापित गर्न र नेपाली वस्तु तथा सेवाहरूको निर्यातमा आवश्यक सहजीकरण गर्ने काममा केन्द्रित हुनु पर्नेछ।”
कार्यक्रममा सहभागी भएका नेपाली राजदूतहरूले पनि नेपालको आर्थिक समृद्धिका लागि कूटनीतिक प्रयासहरूलाई अझ प्रभावकारी बनाउनका लागि प्रतिबद्धता जनाएका छन्। राजदूत डा। शंकर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा। सुम्निमा तुलाधर र अन्य राजदूतहरूले नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरू हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, बालकृष्ण श्रेष्ठ र अन्य सदस्यहरूको सहभागिता रहेको थियो।













