एक आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पलायन रोक्न एक आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै थापाले रोजगारी सिर्जना राष्ट्रको प्रमुख प्राथमिकता बन्नुपर्ने बताए।
“जसरी आर्थिक वर्षमा कति राजस्व सङ्कलन भयो भनेर मापन गरिन्छ, त्यसरी नै कति रोजगारी सिर्जना भयो भनेर मापन गरिनुपर्छ,” थापाले भने। उनले मुख्य राजनीतिक दल र सञ्चारमाध्यमले यस्ता महत्वपूर्ण विषयमा बहसलाई प्राथमिकता दिन नसकेको प्रति असन्तोष व्यक्त गरे।
महामन्त्री थापाका अनुसार सत्तारुढ दलको दुई दलीय संयन्त्रमा उनले रोजगारी सिर्जनाबारे बहस सुरु गराएका छन्। “रोजगारी सिर्जना गर्न सकियो भने राजनीतिक नेतृत्वलाई पनि आफ्नो काम गर्न सजिलो हुन्छ,” उनले थपे।
उनले अबको युग ज्ञान अर्थतन्त्रको भएको भन्दै यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउन छुट्टै मन्त्रालयको आवश्यकता रहेको पनि उनले उल्लेख गरे।
थापाले वैदेशिक रोजगारमा निर्भर जनशक्ति व्यवस्थापन र देशभित्रै रोजगारी सिर्जनाका लागि ठोस नीति आवश्यक भएको धारणा राखेका छन्।













