६ लाख भ्रष्ट्राचारका आरोपीलाई विशेषले सफाइ दिएपछि फैसला उल्ट्याउन सर्वोच्च पुग्यो अख्तियार

२५ मंसिर २०८१, मंगलवार १८:०६

काठमाडौं। सोलुखुम्बुमा ६ लाख रूपैयाँ हानिनोक्सानीको आरोपमा सफाइ पाएका तीन जना व्यक्तिहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

विशेष अदालतले एक वर्षअघि सोलुखुम्बुको लिखुपिके गाउँपालिका(२ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, र लेखा प्रमुख जीवन सुवेदीलाई सफाइ दिएको थियो। तर, अख्तियारले विशेष अदालतको निर्णयप्रति असहमति जनाउँदै मंगलबार सर्वोच्चमा पुनरावेदन दायर गरेको हो।

अख्तियारका अनुसार, वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क रूपमा दानपत्रमा प्राप्त जग्गालाई झुट्टा बिल भरपाईमार्फत ६ लाख ६० हजार भुक्तानी गरिएको थियो। लेखा परीक्षणपछि ६० हजार दाखिला गरिए पनि बाँकी ६ लाख रुपैयाँ बराबरको रकम हानिनोक्सानी भएको अख्तियारको दाबी छ।

आयोगले आरोपितहरूले निःशुल्क प्राप्त जग्गाका लागि दानपत्रको लिखत दर्ता गरेपछि झुट्टा बिल भरपाईमार्फत रकम निकासा गरेको जनाएको छ। साथै, दानपत्रको लिखत र मालपोत कार्यालयका रसिदले उक्त जग्गा निःशुल्क प्राप्त भएको प्रष्ट्याएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, प्रतिवादीहरूको मनसाय सुरूमा निःशुल्क जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा गरेजस्तो देखाउने र पछि नक्कली बिल प्रयोग गरी रकम निकासा गर्ने रहेको छ। यसले उनीहरूको आर्थिक अनियमिततामा संलग्नता प्रस्ट्याउँछ।

विशेष अदालतले अभियुक्तहरूको पक्षमा फैसला सुनाउँदै सफाइ दिएको थियो। तर, अख्तियारले उक्त निर्णयलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतको ढोका ढकढक्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*